दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ । बिहीबार कालुञ्चोक मैदानमा भएको उद्घाटन खेलमा कर्णालीले छिमेकी टोली सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै घरेलु दर्शकलाई पहिलो खुसी दिएको छ । कर्णालीको जितमा विपिन रावल नायक बने ।

सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य कर्णालीले १३ ओभर ३ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीको जितमा विपिनले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ६० रन बनाए । उनले टोलीलाई सहज जिततर्फ अघि बढाएका थिए ।
ओपनर दिनेश रावत गोल्डेन डकआउट भएपछि दबाबमा परेको कर्णालीको इनिङ्सलाई विपिनले सम्हालेका थिए । त्यसैगरी दिनेश अधिकारीले १५ रन बनाउँदा मनिष थापा र कप्तान रविन्द्रजंग शाहीले समान १३ रनको योगदान दिए ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि अभिषेक पालले सर्वाधिक २८ रन बनाउँदा दीपक बोहराले १८ रन जोडे ।
सुदूरपश्चिमलाई सुरुदेखि नै दबाबमा राखेको कर्णालीका दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई–दुई विकेट लिए ।
यस जितसँगै कर्णालीले पुरुष क्रिकेटमा सुखद सुरुवात गर्दै प्रतियोगितामा आफ्नो जितको खाता खोलेको छ ।
दशौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा चार खेल सम्पन्न, पुलिस र सुदूरपश्चिमको फराकिलो जित
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा बुधबार चार खेल सम्पन्न भएका छन् । बुधबार भएका खेलमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश विजयी भएका छन् ।
फुल कोर्ट (५×५) विधाअन्तर्गत भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–१९ अङ्कले पराजित गरेको छ । त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ अङ्कको फराकिलो अन्तरले हराएको छ ।
यसैगरी, थ्री अन थ्री (३×३) विधाअन्तर्गत भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १३–८ अङ्कले पराजित गरेको छ । अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ८–३ अङ्कले हराएको छ ।
बुधबार दुवै विधामा प्रतिस्पर्धा गरेको मधेश प्रदेशले भने दुवै खेलमा हार बेहोरेको छ ।
सुदूरपश्चिममाथि बागमतीको जित
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गर्दै बागमतीले पहिलो जित दर्ता गरेको हो ।
टस जितेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा सात विकेट गुमाएर ११२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि मनिषा बोहराले ३०, स्नेहा महराले २२ तथा अनु कडायतले अविजित २३ रन बनाइन् । अनुले १५ बलमा एक चौका र एक छक्का प्रहार गरिन् । कप्तान ऋतु कनौजियाले पनि अविजित १५ रनको योगदान दिइन् ।
बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले सर्वाधिक तीन विकेट लिइन् । संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक–एक विकेट हात पारे ।
११३ रनको लक्ष्य पछ्याएको बागमतीले १८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । बागमतीका लागि ओपनर हेलिषा गुरुङले अविजित ५५ रनको उत्कृष्ट पारी खेलिन् । ५१ बलको सामना गरेकी उनले ६ चौका प्रहार गरिन् । त्यस्तै, लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३ र विपिसा शाहीले १० रन बनाइन् ।
सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महराले एक–एक विकेट लिए । अविजित ५५ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिएकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच घोषित भइन् । प्रतियोगिताअन्तर्गत बुधबार दोस्रो खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।