मेलकट्टेश्वर माविका विद्यार्थीको एकदिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न

चुरे (कैलाली) : चुरे गाउँपालिका वडा नं. ६, बयालामा अवस्थित श्री मेलकट्टेश्वर माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले बिहीबार एकदिने शैक्षिक तथा अवलोकन भ्रमण सम्पन्न गरेका छन् ।


स्थानीय पाठ्यक्रम ‘हाम्रो चुरे’ विषयअन्तर्गत कक्षाकोठामा सिकेका र अध्ययन गरेका विषयवस्तुलाई व्यवहारिक ज्ञानसँग जोड्दै अझ सशक्त बनाउने उद्देश्यले विद्यार्थीहरू भ्रमणमा निस्किएका हुन् । विद्यालयका शिक्षक सुभाषचन्द्र भण्डारीको संयोजन तथा शिक्षिका विमला भुसालको सहयोगी भूमिकामा उक्त भ्रमण सम्पन्न भएको हो ।

भ्रमणका क्रममा विद्यार्थीहरूलाई ५ वटा छुट्टाछुट्टै समूहमा विभाजन गरी चुरे गाउँपालिकाको प्रशासनिक कार्यालयको अनुगमन तथा अवलोकन गराइएको थियो । विद्यार्थीहरूले पालिकाका विभिन्न शाखाहरूको अवलोकन गर्दै ती शाखाबाट प्रवाह हुने सेवा र कार्यसम्पादनबारे सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष जानकारी लिएका थिए । विशेषगरी शिक्षा तथा खेलकुद शाखामा शिक्षा अधिकृत मदनराज जोशीले विद्यार्थीहरूका विभिन्न जिज्ञासा मेटाउनुभएको थियो ।


सोही अवसरमा चुरे गाउँपालिकामा भर्खरै हाजिर हुनुभएका प्रमुख प्रशासकीय अधिकृत कुमारी गोमती बोगटीले विद्यार्थीहरूको यस किसिमको प्रयोगात्मक भ्रमणको खुलेर प्रशंसा गर्नुभयो । उहाँले विद्यार्थीहरूले राखेका विभिन्न जिज्ञासाको जवाफ दिँदै आगामी दिनमा आफ्नो जीवनमा सफल बन्न प्रेरणा तथा हौसला प्रदान गर्नुभएको थियो ।यस्तै, चुरे गाउँपालिकाकी उपाध्यक्ष धना देवी थापाले पनि विद्यार्थीहरूको अवलोकन भ्रमणको सराहना गर्दै उपाध्यक्षको काम, कर्तव्य र अधिकारबारे प्रकाश पार्नुभएको थियो । साथै, उहाँले पालिकाको न्यायिक समितिको कार्यक्षेत्र र न्याय सम्पादन प्रक्रियाका बारेमा समेत विद्यार्थीहरूलाई जानकारी गराउनुभएको थियो ।

प्रशासनिक कार्यालयको अवलोकनपश्चात् विद्यार्थीहरूले डोटीको बडीकेदार गाउँपालिकामा अवस्थित ३.३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजनाको स्थलगत भ्रमण गरी विद्युत् उत्पादन प्रक्रियाबारे बुझेका थिए । यसैगरी, विद्यार्थीहरूले चुरे गाउँपालिकाको सुन्तला पकेट क्षेत्रका रूपमा परिचित अलड गाउँमा रहेको सुन्तला बारीको समेत अवलोकन गरे । सो क्रममा उनीहरूले स्थानीय सुन्तला किसान देवीराम कँडेलसँग सुन्तला खेती, यसको व्यवस्थापन र बजारीकरणका विषयमा विभिन्न जिज्ञासा राख्दै जानकारी लिएका थिए ।

भ्रमणको अन्त्यमा विद्यार्थीहरूले चुरे गाउँपालिका वडा नं. १ मा पर्ने पर्यटकीय स्थल बसहर झरनाको समेत अवलोकन गरेका थिए ।किताबी ज्ञानलाई प्रत्यक्ष अवलोकनमार्फत बुझ्न पाउँदा विद्यार्थीहरू निकै उत्साहित र खुसी देखिएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top