You are currently viewing धनगढीमा असोज १७ गते राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप, पुरस्कार राशि १५ लाख

धनगढीमा असोज १७ गते राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप, पुरस्कार राशि १५ लाख

धनगढी : सुदूरपश्चिममै पहिलोपटक राष्ट्रियस्तरको ‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप’ आगामी असोजमा धनगढीमा आयोजना हुने भएको छ।

ब्ल्याक स्टोन फिटनेस धनगढीको आयोजनामा प्रतियोगिता २०८३ असोज १७ गते शनिबार अर्थात् ३ अक्टोबर २०२६ मा धनगढी स्थित सिद्धार्थ कटेजमा सञ्चालन हुनेछ। आयोजकले साउन १५ गते शुक्रबार अपराह्न ४ बजे आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको मिति, प्रतिस्पर्धाका विधा, पुरस्कार व्यवस्था र उद्देश्यबारे जानकारी सार्वजनिक गरेको हो।

ब्ल्याक स्टोन फिटनेसले अघिल्लो वर्ष सुदूरपश्चिममै पहिलोपटक ‘ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता, फारवेस्ट्स स्ट्रङ्गेस्ट म्यान एन्ड वुमन’ आयोजना गरेको थियो। उक्त प्रतियोगिताबाट प्राप्त अनुभवका आधारमा यस वर्ष थप परिष्कृत स्वरूपमा राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक ज्ञानेन्द्र राज पाण्डेले जानकारी दिए।

प्रतियोगिता वर्ल्ड पावरलिफ्टिङको नियम तथा मापदण्डअनुसार सञ्चालन गरिनेछ। खुला पुरुष, खुला महिला, पुरुष मास्टर्स र पुरुष जुनियर्स गरी विभिन्न तौल तथा उमेर समूहका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

खुला पुरुषतर्फ ६२ केजी भन्दा मुनि, ६२ देखि ६९ केजी, ६९ देखि ७७ केजी, ७७ देखि ८५ केजी, ८५ देखि ९४ केजी र ९४ केजीभन्दा माथि गरी छ तौल समूह निर्धारण गरिएको छ।खुला महिलातर्फ ५३ केजी भन्दा मुनि, ५३ देखि ५८ केजी, ५८ देखि ६४ केजी र ६४ केजीभन्दा माथि गरी चार तौल समूह रहनेछन्।

उमेर समूह अन्तर्गत ४० वर्ष भन्दा माथिका खेलाडीका लागि पुरुष मास्टर्स तथा २३ वर्षभन्दा मुनिका खेलाडीका लागि पुरुष जुनियर्स विधा राखिएको छ। यसरी तौलतर्फ १० र उमेरतर्फ दुई गरी प्रतियोगितामा कुल १२ समूह रहने आयोजकले जनाएको छ।

खुला पुरुष तथा महिला तौल समूहका प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रत्येक विधाका स्वर्ण पदक विजेताले ३० हजार, रजत पदक विजेताले १५ हजार र कांस्य पदक विजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

पुरुष मास्टर्स तर्फका समग्र स्वर्ण पदक विजेतालाई ३० हजार, रजत पदक विजेतालाई १५ हजार र कांस्य पदक विजेतालाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। पुरुष जुनियर्स तर्फ पनि समग्र स्वर्ण, रजत र कांस्य पदक विजेताले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

यसैगरी, प्रतियोगिताका समग्र पुरुष र समग्र महिला विजेतालाई जनही एक/एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। विजेता खेलाडीले नगद पुरस्कारसँगै पदक तथा उपहार सामग्री समेत प्राप्त गर्नेछन् भने प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ।नगद पुरस्कार, पदक तथा उपहार सामग्री सहित प्रतियोगिताको कुल पुरस्कार राशि १५ लाख रुपैयाँ रहेको छ।

प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीका लागि पाँच हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। खेलाडी दर्ताको प्रक्रिया, समयसीमा तथा अन्य आवश्यक विवरण ब्ल्याक स्टोन फिटनेसको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राममार्फत चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा वर्ल्ड पावरलिफ्टिङबाट प्रमाणित निर्णायकहरू रहनेछन्। प्रमाणित तथा अनुभवी निर्णायकको उपस्थितिले प्रतियोगितालाई निष्पक्ष, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन सहयोग पुग्ने तथा खेलाडीले निर्धक्क रूपमा प्रतिस्पर्धा गर्ने वातावरण पाउने आयोजकको विश्वास छ।

आयोजकका अनुसार प्रतियोगिताले नेपाली पावरलिफ्टिङ खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने र राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ।

विद्यार्थी देखि ज्येष्ठ नागरिक सम्म सबै उमेर समूहमा नियमित शारीरिक व्यायाम र सन्तुलित खानपानबारे जनचेतना फैलाउनु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ। पछिल्लो समय युवाहरू दुर्व्यसनमा फसिरहेको सन्दर्भमा उनीहरूलाई कुलतबाट टाढा राख्दै जिम तथा शारीरिक व्यायामलाई सकारात्मक र स्वस्थ जीवनशैलीका रूपमा विकास गर्न प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।

पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक पाण्डेले आफ्नो जीवनको अनुभवसमेत सुनाएका थिए। उनले विगतमा आफू दुर्व्यसनमा फसेको र लामो समयसम्म औषधिको प्रयोग गरेको उल्लेख गर्दै पछिल्लो समय जिम र फिटनेसका माध्यमबाट जीवनमा उल्लेखनीय परिवर्तन ल्याउन सफल भएको बताए। पाण्डेले ४६ वर्षको उमेरमा देशको प्रतिनिधित्व गर्दै एसियन पावरलिफ्टिङ प्रतियोगितामा स्वर्ण पदक जितेको अनुभव पनि साझा गरे।

“मैले यो कुरा गर्व गर्न वा प्रचारका लागि भनिरहेको होइन,” पाण्डेले भने, “जिम तथा व्यायामले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्छ र जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। जीवनको लामो समय कुलतमा खेर फालेको मैले यसै माध्यमबाट व्यवस्थित जीवन र आत्मसम्मानको स्थान हासिल गर्न सकेँ भने अरूले पनि गर्न सक्छन्।”

उनले शारीरिक तथा मानसिक स्वास्थ्य सुधारमा मात्र सीमित नरही पावरलिफ्टिङ जस्ता खेलका माध्यमबाट समाज र देशका लागि योगदान दिन सकिने बताए।

“यसले शारीरिक र मानसिक स्वास्थ्य सुधार्छ नै, प्रतिष्ठित खेल प्रतियोगितामा सहभागी भएर देश र खेलकुद क्षेत्रमा योगदान गर्ने अवसर पनि दिन्छ भन्ने मेरो आशय हो,” पाण्डेले भने।

देशभरका पावरलिफ्टिङ खेलाडीलाई धनगढीमा भेला गराई प्रतियोगिता मार्फत नयाँ चिनारी र पहिचान दिलाउनुका साथै युवाको मानसिक तथा शारीरिक स्वास्थ्य सुदृढ बनाउँदै उनीहरूलाई पावरलिफ्टिङतर्फ आकर्षित गर्नु कार्यक्रमको प्रमुख लक्ष्य रहेको उनले बताए।

आयोजक ब्ल्याक स्टोन फिटनेसले देशभरका सम्पूर्ण पावरलिफ्टिङ खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ। प्रतियोगिता सम्बन्धी थप सूचना तथा विस्तृत विवरण संस्थाको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राममार्फत क्रमशः सार्वजनिक गरिनेछ।

ब्ल्याक स्टोन फिटनेस परिवारले प्रतियोगिताको तयारी तथा संस्थाका गतिविधिमा सञ्चारमाध्यमबाट प्राप्त निरन्तर सहयोगका लागि पत्रकार तथा सञ्चारकर्मीलाई धन्यवाद समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply