धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भीम पडालले पुनःक्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

एक भिडियो सन्देश जारी गर्दै पडालले आफ्नो उम्मेदवारीमार्फत पार्टीको संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउँदै कांग्रेसको संगठनलाई वडा तहसम्म सुदृढ बनाउने बताएका छन्।
पडाल यसअघि पनि नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहिसकेका छन्। २०७८ सालमा भएको क्षेत्रीय अधिवेशनमा उनी क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए।
त्यसयता क्षेत्र नम्बर ५ मा पार्टीका विभिन्न सांगठनिक गतिविधिमा उनको सक्रियता देखिँदै आएको छ। २०८१ माघमा सम्पन्न क्षेत्रीय सम्मेलन पनि पडालकै अध्यक्षतामा भएको थियो। उक्त कार्यक्रममा पार्टी संगठनलाई स्थानीय तहसम्म थप सक्रिय बनाउने तथा नेता–कार्यकर्ताबीच एकता र समन्वय कायम गर्ने विषयमा जोड दिइएको थियो।
अब १५औँ महाधिवेशनमा क्षेत्रीय सभापति पदका लागि आफ्नो उम्मेदवारी अघि सारेसँगै कैलाली–५ को कांग्रेस संगठनभित्र नेतृत्व चयनको प्रक्रिया थप चर्चामा आएको छ। आगामी मंगलबार हुन गैरहेको अधिवेशनमा प्रतिनिधिहरूको निर्णयबाट क्षेत्रीय नेतृत्व चयन हुनेछ।
यता पडालको प्रतिस्पर्धीको कैलाली क्षेत्र न ५ प्रदेश ‘ख’ का सभापति केशब राज जोशीले पनि यसअघि नै क्षेत्रीय सभापति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन । अधिवेशन नजिकिएसँगै दुई युवानेता पडाल र जोशी बीचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?