भारतका जय शाह दोस्रो कार्यकालका लागि आईसीसी अध्यक्षमा निर्विरोध नियुक्त

भारतका जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी )को अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्। इन्डोनेसियाको बालीमा बसेको आईसीसी बोर्ड बैठकमा निर्देशकहरूको प्रस्तावपछि शाह निर्विरोध पुनः नियुक्त भएका हुन्।

आईसीसीले शाहको नेतृत्वप्रति बोर्डले देखाएको विश्वास र क्रिकेटको विश्वव्यापी विस्तार, दर्शकको संख्या वृद्धि तथा व्यावसायिक विकासलाई अघि बढाउन निरन्तरताको आवश्यकता रहेको जनाएको छ।

क्रिकेट सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा पुनरागमनको तयारीमा छ। साथै, आईसीसीले प्रतियोगिताहरूको दीर्घकालीन कार्यक्रम विस्तार गर्दै सहभागिता र खेल विकासका थप अवसर सिर्जना गर्ने योजना अघि सारेको छ।

पुनः नियुक्तिपछि शाहले बोर्डका निर्देशकहरूले आफूलाई गरेको विश्वासप्रति आभार व्यक्त गर्दै विश्वभर क्रिकेटको हितमा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले क्रिकेट ओलम्पिकमा फर्कनु नयाँ दर्शकसम्म खेल पुर्‍याउने र नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्ने महत्त्वपूर्ण अवसर भएको बताए। प्रतियोगिता आयोजना गर्नु मात्र नभई खेलाडी, समर्थक, व्यावसायिक साझेदार र अन्य सरोकारवालालाई समेटेर क्रिकेटको दिगो भविष्य निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top