असार ४,धनगढी : धनगढी ७ भानुचोकमा रहेको माइलस्टोन इङ्लिस बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुले हलमै गएर चलचित्र अवलोकन गरेका छन । बुधबार धनगढीको एसटिएस सिनेमा हलमा गएर विद्यार्थीहरुले ’रोल नम्बर वान’ को विशेष सो हेरेका हुन । केहि विद्यार्थी आफै र केहि विद्यार्थी अभिभावक सहित चलचित्र हेर्न गएका थिए ।

एसटिएस चलचित्र हलका व्यवस्थापक योगेन्द्र नायकले विद्यार्थी र अभिभावकले संयुक्त रुपमा हेर्न मिल्ने राम्रो कथानक चलचित्र ’रोल नम्बर वान’ भएको भन्दै विद्यार्थीहरुलाई पठाइदिनुपर्यो भनेपछि आफूले कक्षा ४ देखि ९ सम्मका इच्छुक विद्यार्थी र अभिभावकलाई चलचित्र हेर्न आग्रह गरेको माईलस्टोन बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल भुवन मल्लले जानकारी दिए ।

सामान्यतर्फ ३०० र भिआपीतर्फ ५०० टिकट दर कायम गरिएको भएपनि विद्यार्थीहरुलाई सहुलियत गर्दै रु.२०० मै चलचित्र हेर्न दिईएको हल व्यवस्थापक योगेन्द्र नायकले बताए । विद्यार्थीहरुले पनि निकै चाखपूर्वक अनुशासित भएर चलचित्र हेरेको विद्यालय प्रशासनले जनाएको छ ।

स्कुलका संस्थापक प्रिन्सिपल भुवन मल्लले पढाईसँगसँगै विद्यार्थीहरुमा थप अतिरिक्त विषयको ज्ञान होस भन्नका लागि चलचित्र हेर्न पठाएको बताउँदै आगामी दिनमा थप सिर्जनात्मक कार्यमा विद्यार्थीहरुलाई सहभागी गराउने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?