You are currently viewing राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिप अन्तर्गत सुदूरपश्चिम प्रदेश स्तरीय छनोट : कञ्चनपुरको विजयी सुरुवात

राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिप अन्तर्गत सुदूरपश्चिम प्रदेश स्तरीय छनोट : कञ्चनपुरको विजयी सुरुवात

असार ६ ,धनगढी : राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिप अन्तर्गत सुदूरपश्चिम प्रदेश स्तरीय छनोट प्रतियोगीता सुरु भएको छ । धनगढीको फाप्लामा शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्काले प्रतियोगीतको उद्घाटन गरेका हुन ।


उद्घाटन खेलमा कञ्चनपुरले अछाममाथि ९५ रनको विशाल जीत निकालेको छ । कञ्चनपुरले दिएको १७८ रनको लक्ष्य पछ्याएको अछाम १५.५ ओभरमा ८२ रनमै समेटियो । अछामका लागि आयुष कडायतले सर्वाधिक ३५ रनको पारी खेल्दा अन्य ब्याटरले सम्झनलायक प्रर्दशन गर्न सकेनन । कञ्चनपुरका लागि सुरज धामीले ह्याट्रिक सहित ५ विकेट लिन सफल भए । २.५ ओभर बलिङ गरेका धामीले मात्र ११ रन खर्चेर ५ विकेट चट्काएका हुन । त्यस्तै अंजित धामी र आयुष भट्टले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला बलिङका लागि मैदानमा उत्रिएको अछामले सोचेजस्तो प्रर्दशन गर्न सकेन । कञ्चनपुरका ब्याटर निरज सिंह कार्की एक्लैले ९२ रनको उत्कृष्ट पारी खेले । ५४ बलको सामना गरेका कार्कीले ९ चौका र ५ छक्का हिर्काए । कार्की खेलको म्यान अफ दी म्याच पनि चुनिए । त्यस्तै निरज पन्तले २१ रनको योगदान दिए । २५ रनमा दुई विकेट गुमाएको कञ्चनपुरका लागि निरज सिंह कार्की र निरज पन्तले तेश्रो विकेटका लागि ९८ रनको साझेदारी गरे ।धिरेन्द्र राज बिस्टले अविजित १९ रनको पारी खेल्दा प्रिसियस मल्लले अविजित ११,युवराज सिंह साउँदले ८ तथा कप्तान हिमाल पन्तले ७ रन बनाए ।

अछामका लागि आयुष कडायतले २ विकेट लिए भने कप्तान सुशिल बुढा र विवेक भण्डारीले समान एक एक विकेट लिए । प्रतियोगीतामा कञ्चनपुरबाट जिल्ला च्याम्पियन भएर आएको वात्सल्य विद्या निकेतन बेलौरी र अछामबाट जिल्ला च्याम्पियन भएर आएको ब्रिचहिल एकेडेमी आ आफ्नो जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी भएका हुन ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा असार ६ देखि १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका विद्यालय च्याम्पियन टोली सहभागी छन ।

दुई समूहमा विभाजित उक्त छनोट प्रतियोगीता अन्तर्गत समूह ए मा कैलाली,कञ्चनपुर,दार्चुला र अछाम रहेका छन भने समूह बी मा डोटी,बझाङ्ग,डडेल्धुरा र बैतडी रहेका छन । यस छनोट प्रतियोगीताको उपाधि विजेता टोलीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै काठमाण्डौंमा आयोजना हुने राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply