श्रवण मुकारुङको सलहलाई पद्मश्री पुरस्कार २०८२ प्रदान

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विक्रम संवत् २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै पुरस्कार बारे आधिकारिक जानकारी सार्वजनिक गरिएको हो । प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका ५ कृतिमध्येबाट मुल्यांकन समितिले ‘सलह’ लाई चयन गरेको हो ।

Screenshot

‘सलह’ नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई
कलात्मक ढङ्गले उजागर गर्ने सशक्त आख्यान हो । काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति–चित्रण र मार्मिक कथनशैली यसका प्रमुख शक्ति हुन् । ‘सलह’ले व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोड्दै नेपाली उपन्यासमा सीमान्त जीवन र नारी अस्तित्वको प्रश्नलाई प्रभावशाली रूपमा स्थापित गरेको छ ।


त्यसैगरी, नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको छ । शरणार्थी,राधा,आधा बाटो लगायत ३२ कृतिका लेखक तथा झन्डै दुई दर्जन ग्रन्थका सम्पादक तथा लीला लेखनका व्याख्याता धरावासीले विशेषतः आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तर आधुनिक ढांचाका माध्यमबाट प्रस्तुत गरेका छन् ।यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा।डा। जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

नेपाली,अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन् । ‘यदुनाथ खनालः जीवनी र विचार’,‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ र ‘नेपालको परराष्ट्र नीतिः एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये हुन् । संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत कार्यरत आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न योगदान दिएका छन् ।यी दुवै पुरस्कारको राशी जनही अक्षरेपी तीन लाख तथा सम्मानपत्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top