नेपाली राष्ट्रिय महिला भलिबल टोलीले २० औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ।

जापानको आइचीस्थित पार्क एरिना कोमाकीमा हुने खेल नेपाली समयअनुसार बिहीबार अपराह्न ४ः०५ बजे सुरु हुनेछ।
पहिलो खेलमा आयोजक जापानसँग ३-० को सोझो सेटमा पराजित भएको नेपाल आज इन्डोनेसियाविरुद्ध सुधारिएको प्रदर्शनसहित सुखद नतिजाको खोजीमा हुनेछ।
बुधबार भएको खेलमा विश्व वरीयतामा छैटौं स्थानमा रहेको जापानविरुद्ध नेपालले पहिलो सेट २५-८ ले गुमाएको थियो । दोस्रो सेटमा केही सुधार गरे पनि नेपाल २५-१२ ले पराजित भयो । तेस्रो सेट पनि नेपालले २५-११ ले गुमाएको थियो।
विश्व वरीयतामा ६९ औं स्थानमा रहेको नेपालले ५३ औं स्थानमा रहेको इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दा पहिलो खेलका कमजोरी सुधार गर्नुपर्ने चुनौती छ । इन्डोनेसियाका लागि भने यो प्रतियोगिताको पहिलो खेल हुनेछ।
एसियाडको महिला भलिबलमा १४ टोली सहभागी छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।
नेपाल आयोजक जापान र इन्डोनेसियासँगै समूह ‘ए’ मा रहेको छ । समूह ‘बी’ मा साविक विजेता चीनसँगै काजकिस्तान र फिलिपिन्स छन्।त्यस्तै, समूह ‘सी’ मा गत एसियाडको कांस्य पदक विजेता थाइल्यान्डसँगै चाइनिज ताइपेई, किर्गिस्तान र मंगोलिया छन्। समूह ‘डी’ मा भियतनाम, दक्षिण कोरिया, हङकङ र कतार रहेका छन्।
समूह चरणमा नेपालले दुई खेल मात्र खेल्ने भएकाले इन्डोनेसियाविरुद्धको खेल नेपालको समूह चरणको अन्तिम खेल हुनेछ । महिला भलिबलको दोस्रो दिन बिहीबार नेपाल र इन्डोनेसिया खेलबाहेक अन्य पाँच खेल पनि हुँदैछन्।

एसियाडको महिला भलिबलमा नेपालको यो लगातार दोस्रो सहभागिता हो । यसअघि चीनमा आयोजित १९ औं एसियाडमा नेपाली महिला टोलीले दक्षिण कोरिया र भियतनामसँग प्रतिस्पर्धा गरेको थियो । दुवै खेलमा नेपाल सोझो सेटमा पराजित भएको थियो।लगातार दोस्रो पटक एसियाडमा सहभागी नेपाली महिला टोलीले यसपटक अघिल्लो संस्करणभन्दा सुधारिएको प्रदर्शन गर्ने लक्ष्य राखेको थियो।
यद्यपि, प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो जापानविरुद्ध अपेक्षाकृत चुनौती प्रस्तुत गर्न सकेन । पुरुष भलिबलतर्फ भने यस संस्करणको एसियाडमा नेपालको सहभागिता छैन।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?