धनगढी : सामाजिक सेवा र युवा नेतृत्वमा निरन्तर सक्रिय रहँदै आएका युवा नेता गोकर्ण जोशी (निश्चल ) ले नेपाली कांग्रेस, सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर क्षेत्र नं। १ ‘ख’ बाट प्रदेश प्रतिनिधि ‘युवा तर्फ’पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। ‘युवा शक्ति, समृद्ध समाज, समृद्ध नेपाल’ भन्ने मूल नारा र राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श बोकेर उनी चुनावी मैदानमा उत्रिएका हुन्।

सामाजिक क्षेत्रमा सधैँ समर्पित रहँदै आएका जोशीको बाल्यकालदेखि नै नेतृत्व क्षमताको विकास भएको हो। उनी पूर्व अध्यक्षको रूपमा सिर्जनशील बाल क्लबमा सक्रिय भई बाल्यकालदेखि नै सामाजिक तथा नेतृत्वदायी भूमिकामा संलग्न रहँदै आएका थिए। आफ्नो विद्यार्थी जीवन तथा राजनीतिक चेतनाको विकास क्रममा उनले ने.वि.सं.धनगढी इन्जिनियरिङ इकाइ कमिटीको सचिवको रूपमा जिम्मेवारी सम्हालेका थिए। उक्त समयमा उनले नेपाली कांग्रेसका सिद्धान्त र आदर्शहरूसँग परिचित हुँदै राजनीतिक चेतना विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याएका थिए। त्यस्तै, युवाहरूलाई रचनात्मक कार्यमा जोड्न र युवा नेतृत्व प्रवर्द्धन गर्न उनी ”Youngsters of Nepal’ का संयोजक भई सामाजिक तथा सिर्जनात्मक कार्यमा अग्रसर रहँदै आएका छन्। साथै, धनगढीमा गठित स्वस्फूर्त युवा समूहुको संयोजकको रूपमा उनले अन्यायविरुद्ध आवाज उठाउने र रचनात्मक कार्यहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। स्थानीय विकास र पर्यटन प्रवर्द्धनमा समेत उनको उत्तिकै योगदान रहेको छ।

उनी बेलडाँडी पर्यटन प्रवर्द्धन समितिको अध्यक्ष भई बेलडाँडी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा स्थानीय विकास निर्माणका कार्यहरूमा सक्रिय रूपमा नेतृत्व प्रदान गर्दै आएका छन्। सामाजिक रूपान्तरण, युवा सशक्तीकरण र कञ्चनपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै उनले सम्पूर्ण मतदाता तथा शुभेच्छुकहरूसँग सहयोग र समर्थनका लागि अपिल गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?