सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छः गृहमन्त्री लेखक

२१ भाद्र,धनगढीः गृहमन्त्री रमेश लेखकले दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताएका छन्।
आज नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले दोधारा–चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रुपमा शिलान्यास गर्ने बताएका हुन्। “दोधारा–चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ,” उनले भने, “यसको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम छ।” उनले दोधारा–चाँदनीमा पछिल्लो समय विकासले तीव्रता पाएको बताए।


कुनैबेला आकाशमा बादल देख्नेबित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीको महाकाली र जोगबुढा नदीमा बाँध बनेपछि सुरक्षित बनेको उनले बताए। “महाकाली नदीमा देशकै ठूलो पक्की पुल बनेकाले यहाँ अस्पताल र क्याम्पस बनेका छन”, गृहमन्त्री लेखकले भने, “जोगबुढा नदीमा बाँकी रहेका स्थानमा तटबन्ध बनाएर यहाँका नागरिकलाई बाढीबाट सुरक्षित गरिन्छ, त्यसका लागि बजेट विनियोजन भइसकेको छ।”


उनले मुलुकमा संविधान निर्माणका लागि नेपाली काँग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संविधानको रक्षा पनि काँग्रेसले गर्नुपर्ने धारणा राखेका छन्। गणतान्त्रिक शासन व्यवस्था सुदृढ गर्न काँग्रेसको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। वर्तमान सरकारले नीतिगत र कानुनी सुधार गरेको उल्लेख गर्दै उनले यसमा कर्मचारीको ठूलो सहयोग रहेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top