२असोज,धनगढीः कैलाली कारागारबाट भागेका २४० जना कैदीबन्दी फर्किएका छन्। बुधवारसम्म २२६ जना कैदीबन्दी कारागार फर्किएकामा बिहीवार दिउँसो एक बजेसम्म थप १४ जना फर्किएका हुन्।
गत भदौ २४ गते ‘जेन्जी’ पुस्ताको प्रदर्शनका क्रममा कारगारबाट भागेका कैदीबन्दी फर्किएका हुन्। हालसम्म २८ महिला र २१२ पुरुष कैदीबन्दी कारागार फर्किएको कैलाली जिल्ला कारागार जेलर चिरञ्जीवी सापकोटाले जानकारी दिएका छन्। उनले केही कैदबन्दी भागेको भोलिपल्टदेखि नै सम्पर्कमा आउन थालेको बताए।

फर्किएकामध्ये अधिकांश आफैँ सम्पर्कमा आएका र केहीलाई प्रहरीले टीकापुर क्षेत्रबाट पक्राउ गरी बुझाएको उल्लेख गर्दै उनले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताएका छन्। उनले भने, ’कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ। हामीले पनि सूचना जारी गरेका छौँ । प्रहरीले पनि खोजीकार्य जारी राखेको छ। छिट्टै सबै कैदीबन्दी फर्किने विश्वास छ।’
कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका थिए। ‘जेन्जी’ युवाको प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेको कारागार प्रशासनले जनाएको छ अझैँ ४२६ जना कैदीबन्दी कारागार बाहिर रहेको जेलर सापकोटाले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?