आईसीसी विश्वकप लिग २ मा उपकप्तान दीपेन्द्र सिंह ऐरीको सानदार शतकमा नेपालले युएईलाई जितको लागि २ सय ९० रनको बलियो लक्ष्य दिएको छ । दीपेन्द्रको शतक, छैटौं विकेटका लागि दीपेन्द्र र गुल्सनको शतकीय साझेदारी र विनोद भण्डारीको अर्धशतक नेपालको इनिङ्समा महत्त्वपूर्ण रह्यो । गुलशन र रोहितले पनि आज सन्तोषजनक इनिङ खेले ।

टियु क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८९ रनको योगफल बनायो । आज दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेखको स्थानमा अनुभवी विनोद भण्डारी र युवा खेलाडी अर्जुन कुमाललाई मौका दिईयो । तर डेब्यु खेलमा अर्जुन जम्न सकेनन् । ५ ओभर ५ बलमा ११ रन जोडेर अर्जुन अजय कुमारको बलमा क्याच आउट भए । पहिलो विकेटको नोक्सानीमा नेपालले २५ रन बनाएको थियो।
वान डाउनमा क्रिजमा छिरेका भीम सार्की सामना गरेको दोस्रो बलमा अजय कुमारकै बलमा डक आउट भए । २९ रन बनाउँदा दुई विकेट गुमाएको नेपालले सुरूवात राम्रो गर्न सकेन ।पहिलो पावर प्लेमा नेपालले २ विकेटको नोक्सानीमा ४० रन बनायो ।
तेस्रो विकेटको लागि विनोद र कप्तान रोहित पौडेलले ६७ रनको साझेदारी गरे । ४८ बल खेल्दै ३ चौका सहित ३८ रन बनाएर रोहित जुनेद सिद्दिकीको बलमा मोहम्मद सदादद्वारा क्याच आउट हुन पुगे । रोहित पबिलियन फर्कदा नेपालले २१ ओभर २ बलमा ९६ रन बनाएको थियो ।
यसपछि उप कप्तान दीपेन्द्र सिंह ऐरी मैदान छिरे । दीपेन्द्रको चौकासँगै २३ ओभरको समाप्तीमा नेपालले १ सय रन पुरा गर्यो । क्रिजमा जमेका विनोदले ७२ बलको सामना गर्दै ६ चौका सहित अर्धशतक पुरा गरे । ओडिआईमा विनोदको यो दोस्रो अर्धशतक हो ।
पाँचौ विकेटको लागि दीपेन्द्र र आरिफ शेखले ५५ रनको साझेदारी गरे । आरिफ ११ रनमा आउट भए। ३८ ओभर १ बलमा नेपालले २०० रन बनायो । दीपेन्द्र र गुल्सन झाले छैटौं विकेटको लागि १ सय २ रनको शतकीय साझेदारी गरे । ३८ बल खेलेका गुल्सनले ४ चौका र २ छक्का सहित ४४ रन बनाए ।
पछिल्लो समय उच्च लयमा रहेका दीपेन्द्रको प्रदर्शन आजको खेलमा पनि प्रभावशाली रहयो । दिपेन्द्रले ९४ बल खेल्दै १३ चौका र १ छक्का सहित शतक पुरा गरे । १०० रन बनाएर उनी इनिङ्सको अन्तिम बलमा रनआउट भए । उनको यो करियरकै दोस्रो शतक हो । यसअघि सन् २०२२ मा उनले टियुमा नै पिएनजीसँग शतक बनाएका थिए । जारी सिरिजमा दीपेन्द्रले युएई विरुद्धको पहिलो खेलमा ७५ रन बनाउँदा ओमान विरुद्ध ६० रन बनाएका थिए । बलिङमा जुनेद सिद्दिकी र अजय कुमारले २/२ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?