धनगढीको फाप्लामा जारी कैलाली जिल्ला विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिपमा थ्री स्टार्स बोर्डिङ्ग स्कुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लगातार पाँच खेलमा जित निकाल्ने क्रममा बिहिबार सम्पन्न क्वाटर फाइनलमा सिसिएस स्कुललाई ५ विकेटले पराजित गर्दै थ्री स्टार्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिसिएस स्कुलले दिएको ९५ रनको चुनौतिपूर्ण लक्ष्य थ्री स्टार्सले ८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । थ्री स्टार्सको जितमा मुकेश बोहराले सर्वाधिक ३४ रनको अविजित पारी खेले । मात्र १५ बल सामना गरेका बोहराले ३ चौका र २ छक्का प्रहार गरे । उनी खेलको म्यान अफ दी म्याच चुनिए । त्यस्तै अघिल्लो खेलका म्यान अफ दी म्याच योगेश जोशीले महत्वपूर्ण ३२ रन बनाए ।
सिसिएस स्कुलका लोकेश साउँदले दुई विकेट लिन सफल भए भने रोशन रावल,आदित्य चन्द र आर्यन शाहीले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिसिएस स्कुलले निर्धारित १० ओभरको खेलमा ५ विकेट गुमाएर ९४ रन बनाएको थियो । सिसिएस स्कुलका लागि कप्तान रोशन रावलले सर्वाधिक ३८ रनको पारी खेले भने अन्य ब्याटरले उल्लेखनिय पारी खेल्न सकेनन ।
थ्री स्टार्सका लागि सागर थापाले दुई तथा कप्तान रबिन्द्र सिंह धामीले एक विकेट लिन सफल भए ।
अब थ्री स्टार्सले भोली दोश्रो सेमिफाइनलमा दिउँसो २ बजे वेस्टन क्रिस्टलको सामना गर्नेछ । समूह जी मा रहेको थ्री स्टार्सले लिग चरणमा कैलाली मोडेल मावि,स्वर्णीम शिक्षा सदन,गुरुकुल एकेडेमीलाई पराजित गरेको हो भने मंगलबार पञ्चोदय माविलाई पनि पराजित गर्न सफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?