कैलाली जिल्ला फुटबल संघको आयोजना,अखिल नेपाल फुटबल संघ एन्फाको आर्थिक सहयोग तथा सुदूरपश्चिम खेलकुद परिषदको प्रर्वद्धनमा धनगढीमा फुटबल प्रशिक्षण तालिमको आयोजना हुने भएको छ । कैलाली जिल्ला फुटबल संघले शुक्रबार होटल आस्थामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त एन्फा कम्युनिटी कोर्सको सुरुवात गरेको हो ।

तालिमको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्काले प्रमुख प्रशिक्षक सञ्जित सिंहलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए । ५ दिनसम्म सञ्चालन हुने उक्त तालिममा कैलाली,बैतडी,बुटबल,पाप्ला र कामाण्डौंका गरी ४२ जनाको सहभागीता रहेको छ । जसमा ४ जना महिला प्रशिक्षार्थी पनि सहभागी छन । विभिन्न सेसन गरी सञ्चालन हुने उक्त तालिममा फुटबल सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक कुराहरु सिकाइने प्रमुख प्रशिक्षक सञ्जित सिंहले बताए । सिंहसँगै एन्फाका प्रशिक्षक चेत नारायण श्रेष्ठले पनि प्रशिक्षाथीहरुलाई प्रसिक्षण गराउनेछन ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्काले सुदूरपश्चिम प्रदेश भरीमा अस्तित्वमा रहेका सबै खेलका संघहरुभन्दा कैलाली जिल्ला फुटबल संघले निकै अनुकरणीय काम गरिरहेको भन्दै अरुसंघले पनि सिक्नुपर्ने बताए । सदस्य सचिव खड्काले प्रदेशभरीको खेलविकासका लागि आफूसँग विशेष योजना भएपनि सरकारले उचित बजेटको व्यवस्था नगर्दा चाहेजस्तो काम गर्न नसकेको बताए ।

त्यस्तै अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले आफूले कैलाली जिल्ला फुटबल संघको नेतृत्व सम्हाल्दा जिल्लामा दुई र प्रदेशमा दुई गरी चारमात्र प्रशिक्षक रहेको बताउँदै हाल आएर कैलालीमा मात्रै ११० जना प्रशिक्षक तयार भैसकेको र प्रदेशभरीमै १५० जनाजति प्रशिक्षक उत्पादन भैसकेको बताए । अध्यक्ष मल्ल आफ्नो स्पष्ट भिजन कैलालीको फुटबल विकास गर्नु रहेकाले दाँयाबाँया केहि नसोची निरन्तर लागिरहेको बताएका छन । उनले अहिले एन्फा कम्युनिटी कोर्समा सहभागी भई उत्तिर्ण भएका प्रशिक्षार्थीहरुलाई वर्षदिनभित्र सी लेभलको तालिम दिलाउने र त्यसका लागि आफूले योजना बनाइसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?