You are currently viewing राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिप सुदूरपश्चिम प्रदेश स्तरीय छनोटको उपाधि जित्दै विद्याभुषणले रच्यो इतिहास

राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिप सुदूरपश्चिम प्रदेश स्तरीय छनोटको उपाधि जित्दै विद्याभुषणले रच्यो इतिहास

असार १०,धनगढी : राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिप अन्तर्गत सुदूरपश्चिम प्रदेश स्तरीय छनोट प्रतियोगीताको उपाधि कैलालीको विद्याभुषण पब्लिक स्कुलले जितेको छ । धनगढको फाप्ला मैदानमा बुधबार सम्पन्न फाइनलमा विद्याभुषणले डोटीको सुजङ बोर्डिङ्ग स्कुललाई १२६ रनको विशाल रन अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सदस्य सचिव लोक बहादुर खड्का लगायत अन्य अतिथिहरुले विजेता टोली विद्याभुषण पब्लिक स्कुल र उपविजेता टोली सुजङ बोर्डिङ्ग स्कुललाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।

टस जितेर पहिला ब्याटिङ गरेको विद्याभुषणले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । विद्याभुषणका लागि प्रकाश माझीले ६२ रनको उत्कृष्ट पारी खेले । त्यस्तै सचिन भट्टले अविजित अर्धशतक हिर्काए भने विज्ञान बोहराले ४३ रनको पारी खेले । सुजङ बोर्डिङ्ग स्कुलका लागि सरोद कठायत र कुश सामलले समान दुई दुई तथा बिमल नागरी र विवेक खड्काले समान एक एक विकेट लिए ।

विद्याभुषणले दिएको २०१ रनको लक्ष्य पछ्याउन गएको सुजङ बोर्डिङ्ग स्कुलले सुरुवात राम्रो गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । कप्तान मोहन भट्टले ८ बलमा १७ रनको आक्रामक पारी खेलेपनि अन्य ब्याटरले राम्रो प्रर्दशन गर्न नसक्दा सुजङ बोर्डिङ्ग स्कुल १३.४ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो ।

विद्याभुषणका लागि प्रकाश माझी,विज्ञान बोहराले समान दुई दुई तथा कप्तान विवेक दुवाल,रोशन रावल,योगेश जोशी र पियुष बोहोराले समान एक एक विकेट लिए । फाइनलमा अलराउण्ड प्रर्दशन गरेका प्रकाश माझी म्यान अफ दी म्याच चुनिए । प्रतियोगीतामा उत्कृष्ट बलरको अवार्ड कैलालीका योगेश जोशीले जितेभने उत्कृष्ट ब्याटर र सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि कैलालीकै प्रकाश माझीले जित्न सफल भए ।

अब विद्याभुषणले आउँदो असार २० गते काठमाण्डौंमा आयोजना हुने राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागीता जनाउनेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सदस्य सचिव लोक बहादुर खड्का रहेका थिए । भने क्यानका केन्द्रिय सदस्य बिक्रम बिस्ट,प्रदेश र जिल्लाका पदाधिकारी,विभिन्न विद्यालयका प्रिन्सिपलहरुको पनि उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply