धनगढी । देवागञ्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा हालै घटेको दुःखद घटनाप्रति एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) सुदूरपश्चिम प्रदेश समितिले गहिरो दुःख व्यक्त गरेको छ।
अपेन सुदूरपश्चिम प्रदेश अध्यक्ष मोहान राज ओझाद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।अपेनले अशान्त परिस्थितिलाई यथाशीघ्र सामान्य अवस्थामा ल्याई शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्न सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ।

साथै, सबै पक्षलाई संयमता, धैर्यता, आपसी सम्मान र सहअस्तित्वको भावना कायम राख्न अपिल गर्दै उत्तेजना तथा द्वेष फैलाउने सामग्री सामाजिक सञ्जालमा पोस्ट तथा प्रसार नगर्न अभिभावक, शिक्षक, सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको छ।
बालबालिकाको मानसिक, भावनात्मक तथा सामाजिक विकासमा शान्त वातावरण आवश्यक हुने भन्दै अपेनले राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, शैक्षिक संस्था तथा सञ्चारमाध्यमलगायत सबै सरोकारवालालाई सामाजिक सद्भाव र शान्तिपूर्ण सहअस्तित्व कायम गर्न साझा जिम्मेवारी निर्वाह गर्न अपिल गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?