आईसीसी यू–१९ महिला टी–२० विश्वकपलाई लक्षित गर्दै नेपाली युवा महिला क्रिकेट टोलीको तयारीलाई तीव्रता दिइएको छ। खेलाडीहरू नियमित प्रशिक्षणसँगै आफ्नो खेल कौशल निखार्न मैदानमा व्यस्त छन्। नेपाली यू–१९ महिला टोलीका लागि आगामी समय महत्वपूर्ण छ। नेपालले सन् २०२७ मा बंगलादेशसँगै आईसीसी यू–१९ महिला टी–२० विश्वकप सहआयोजना गर्दैछ। त्यसैले घरेलु मैदानमा हुने विश्वस्तरीय प्रतियोगिताका लागि खेलाडीको क्षमता विकास, टिम संयोजन र प्रतिस्पर्धात्मक तयारीमा जोड दिइएको छ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अनुसार नेपाली यू–१९ महिला टोलीको नेतृत्व हाल पूजा महतोले गरिरहेकी छन् भने महेशप्रसाद रिजाल मुख्य प्रशिक्षक छन्। टोलीमा ब्याटिङ, बलिङ, फिल्डिङ तथा खेल रणनीतिमा केन्द्रित प्रशिक्षण भइरहेको छ।
यसै वर्ष मलेसियामा सम्पन्न एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले प्रभावशाली प्रदर्शन गरेको थियो। समूह चरणमा कतारलाई १०५ रन र सिंगापुरलाई १५१ रनले पराजित गरेको नेपालले क्वार्टरफाइनलमा जापानलाई ९ विकेटले हराउँदै एसीसी यू–१९ महिला एसिया कपमा समेत स्थान बनाएको थियो।


घरेलु मैदानमा हुने विश्वकपमा ऐतिहासिक प्रदर्शन गर्ने लक्ष्यसहित नेपाली यू–१९ महिला खेलाडीहरू अहिलेबाटै पसिना बगाइरहेका छन्। युवा खेलाडीको यो तयारीले नेपाली महिला क्रिकेटको आगामी पुस्ताप्रति पनि ठूलो अपेक्षा जगाएको छ ।