जारी प्रधानमन्त्रीकपमा विभागीय टोली त्रिभुवन आर्मी अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । बिहिबार सम्पन्न खेलमा सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्दै प्रतियोगीतामा ७ खेल खेलको आर्मी अपराजित रहँदै १३ अंकका साथ फानइलको बलियो दाबेदारी प्रस्तुत गरेको छ । ७ खेलमा १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा यथावत् छ ।सुदूरपश्चिमले दिएको १५१ रनको लक्ष्य आर्मीले २०.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

कप्तान विनोदले ७५ बलमा १०० रनको शानदार इनिङ खेले । पीएम कपमा विनोदको यो चौथो शतक हो । यसका साथै उनी सर्वाधिक शतक बनाउने खेलाडी समेत बने ।

कुशल मल्ल २६ रनमा अविजित रहे भने भीम सार्कीले १६ रन बनाए । सुदूरका लागि शेर मल्लले २ विकेट लिँदा मिलन बोहराले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले ३८।१ ओभरमा अलआउट हुँदै १५० रन बनाएको थियो । नारायण जोशीले सर्वाधिक ६३ रन बनाए । अभिषेक पालले २४ रन बनाउँदा खडक बोहराले १३ अनि अशोक धामीले ११ रन बनाए ।

आर्मीका बसिरले ९.१ ओभरमा ३५ रन दिएर ५ विकेट लिए । शाहब आलम र नरेन साउदले २/ २ विकेट लिँदा आकाश चन्दले १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?