सैनिक आवासीय महाविद्यालय, तेघरी, कैलालीको आयोजनामा सञ्चालित अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता–२०८३ ( SAMT Inter-school Quiz Mania-2083 ) भव्यताका सम्पन्न भएको छ।

प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय, तेघरी, कैलालीले रु. १५,०००/ , ट्रफी, मेडल र प्रमाणपत्र सहित प्रथम स्थान प्राप्त गरेको छ। इन्टरनेसनल पब्लिक स्कुल, कञ्चनपुरले रु. १०,०००/,ट्रफी, मेडल र प्रमाणपत्र सहित दोस्रो स्थान प्राप्त गरेको छ भने मेधावी सेकेन्डरी स्कुल, कञ्चनपुरले रु. ५,०००/ ट्रफी, मेडल र प्रमाणपत्र सहित तेस्रो स्थान प्राप्त गरेको छ।
दुई चरणमा सञ्चालित हाजिरीजवाफ प्रतियोगितामा कैलाली र कञ्चनपुर जिल्लाका ३९ विद्यालय सहभागी थिए। अन्तिम चरणको प्रतियोगिता प्रविधिमैत्री रूपमा मल्टिमिडियामार्फत सञ्चालन गरिएको थियो। सहभागी सबै विद्यालयलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।
सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा महाविद्यालय सञ्चालक समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि श्री उपरथी पवन खत्रीले पुरस्कार वितरण गर्दै हाजिरीजवाफ प्रतियोगिता केवल जित–हारको विषय नभई ज्ञान, जिज्ञासा, तार्किक सोच तथा निर्णय क्षमता विकास गर्ने अवसर भएको बताए । उनले सहभागी सबै विद्यार्थीलाई विजेताको भावनाले अघि बढ्न प्रेरित गर्दै विजेतालाई बधाई र अन्य सहभागीलाई हारबाट सिकेर आगामी दिनमा अझ उत्कृष्ट बन्न आग्रह गरे।
यस्ता प्रतियोगिताले विद्यार्थीमा पठन संस्कृति, चिन्तन र व्यवहारिक क्षमताको विकासमा महत्वपूर्ण सहयोग पुग्ने धारणा कार्यक्रमका विशिष्ट अतिथि तथा शिक्षा विकास तथा समन्वय एकाइ, कैलालीका प्रमुख जीवन न्यौपानेले व्यक्त गरे।
स्वागत मन्तव्यका क्रममा महाविद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिलबहादुर रानाले आजको स्वस्थ प्रतिस्पर्धाले विद्यार्थीहरूबिच सहकार्य, परिचय, अनुभव आदान–प्रदान र आपसी सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गगरे। साथै, यस्ता शैक्षिक कार्यक्रमले विद्यालयहरूबिचको सम्बन्ध विस्तार गर्दै समग्र शिक्षा क्षेत्रमा सकारात्मक ऊर्जा थप्ने बताए ।
अतिरिक्त क्रियाकलाप विभाग प्रमुख तथा कार्यक्रम संयोजक श्री इन्द्रबहादुर सिंहज्यूले प्रतियोगिता सञ्चालनसम्बन्धी विषयमा संक्षिप्त जानकारी गराएका थिए ।

महाविद्यालयका प्रिन्सिपल सिद्धेश्वर पन्त (प्रकाश)ले सहभागी विद्यालय, अतिथि, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद दिँदै परिणामभन्दा सिकाइ र क्षमता पहिचान महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।
शिक्षक केपी कलौनीज्यूले कार्यक्रम सञ्चालन गरे भने शिक्षक यज्ञराज भट्टराईले प्रतियोगितामा quizmaster को भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा महाविद्यालय सञ्चालक समितिका अध्यक्ष उपरथी पवन खत्री, विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय एकाइ, कैलालीका प्रमुख जीवन न्यौपाने, सैनिक श्रीमती सङ्घ समारोह उपसमिति सल्लाहकार कल्पना बुढा खत्री ,चैतन्य पाठशालाका CEO गणेश प्रसाद जोशी, सत्यवती एकेडेमीका CEO वीरबहादुर कडायत, एभरेस्ट एकेडेमीका प्रिन्सिपल शिवराज जोशी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक / प्रिन्सिपल तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?