भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित राना परिवारमा हृदयविदारक घटना घट्दा सम्पूर्ण गाउँ शोकाकुल बनेको छ। मिर्गौला रोगबाट पीडित ६९ वर्षीय बाबु दानबहादुर राना र जन्डिस रोगबाट पीडित ४० वर्षीय छोरा विक्रम रानाको २४ घण्टाभित्र निधन भएको हो।

बाबु दानबहादुर धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्युवरण गरे भने छोरा विक्रमको भारतको बरेलीस्थित गुडलाइफ अस्पतालमा उपचारका क्रममा निधन भयो।
स्थानीय वडाध्यक्ष प्रकाश थापाका अनुसार, शुक्रबार छोरा विक्रमको निधनको खबरले परिवारमा शोक उत्पन्न भएको थियो। त्यसको केही घण्टापछि बाबु दानबहादुरको मृत्युको खबरले राना परिवारमा अपूरणीय पीडा थपिएको छ।

शनिबार दिउँसो मृतक बाबु–छोराको महाकाली नदीमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। एकैसाथ बृद्ध बाबु र युवा छोराको निधनले परिवारमा गहिरो क्षति पुगेको छ भने गाउँले पनि शोक र सहानुभूतिको लहरमा डुबेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?