धनगढी: नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले यही भदौ २३ र २४ गतेको घटनाबाट सृजित मुलुकको वर्तमान अवस्थामा एकजुट भएर पुनःनिर्माणको कार्यमा जुट्न सबैलाई अपिल गरेको छ।

सोमबार बसेको सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको बैठकले देउवा दम्पतीमाथिको आक्रमण निन्दनीय भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको हो।
यस्तै बैठकले पार्टी सभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवामाथि भएको आक्रमणको घोर भर्त्सना गरेको छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,लोकतन्त्रका लागि जीवनभर अविचलित रही संघर्ष गर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका आदरणीय पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि जेनजीको उक्त प्रदर्शनमा लोकतन्त्र नचाहने, संविधान विरोधी र नेपाली कांग्रेसलाई कमजोर देखाउन चाहने व्यक्ति, समूहको घुसपैठबाट भएको साङ्घातिक आक्रमण निन्दनीय रहेकोले सो कार्यको घोर भर्त्सना गर्दछौँ साथै उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित साङ्घातिक आक्रमणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दछौँ।ʼ

भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको हत्या, हिंसा, आक्रमण लुटपाट आगजनी र सम्पत्तिको तोडफोड तथा नोक्सानीको छानबिन गरी तत्काल दोषीलाई कडा कानुनी कारबाहीका गर्न कांग्रेसले प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको छ। कांग्रेसले जेनजी र युवाहरूले उठाएको भ्रष्टाचार मुक्त समाज, भ्रष्टाचारीलाई कारबाही लगायतका उचित मागको सम्बोधनका लागि तत्काल पहल गर्न माग गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
