धनगढी,८ क्याम्पस रोडमा रहेको थ्री स्टार्स अंग्रेजी आवासिय विद्यालयले २२औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । शुक्रबार विद्यालयको प्रांगणमा आयोजित उक्त वार्षिकोत्सव तथा अभिभावक दिवसको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले उद्घाटन गरेकी हुन । उद्घाटन समारोहमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि रानाले विद्यालयले शैक्षिक क्षेत्रमा प्राप्त गरेको उपलब्धी लोभलाग्दो रहेको बताइन ।

रानाले सानोतिनो प्रयासले विद्यालयले सफलता प्राप्त नगरेको भन्दै त्यसका लागि विद्यालय व्यवस्थापन समिति,प्रशासन र शिक्षकहरुको टोलीले असाध्यै मिहिनेत गरेको कुरा नतिजाले देखाएको बताएकी छन । उपप्रमुख रानाले अहिले पनि कार्यकारी क्षेत्रमा महिलाको उपस्थिति न्यून भैरहँदा विद्यालय क्षेत्रमा भने अधिकांश ठाउँमा महिलाले नै नेतृत्व गरिरहेको देख्दा अत्यन्तै खुशी लाग्ने गरेको बताएकी छन । कार्यक्रममा रानाले धनगढी उपमहानगरपालिका भित्रका १२५ संस्थागत विद्यालय मध्ये थ्री स्टार्स अंग्रेजी आवासिय विद्यालय उत्कृष्ट विद्यालयको नमूना भएको पनि बताइन ।

कार्यक्रमका विशिष्ट अतिथि धनगढी उपमहानरपालिका वडा न.८ का अध्यक्ष जोगराम चौधरीले विद्यालयले सबै जातजाती, धर्म तथा समुदायलाई न्याय हुने गरी वार्षिकोत्सवमा विद्यार्थीहरु मार्फत विभिन्न प्रस्तुति दिएको भन्दै विद्यालयको प्रंशसा गरे ।

२२औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा सम्मानित भएका अभिभावक भागिराम चौधरीले विद्यालयले बालबालिकाको जग बलियो बनाउने काममा धेरै मिहिनेत गरेको बताए । उनले आफ्ना ४ जना बालबालिका थ्री स्टार्सबाट प्रथम श्रेणीमा उत्तिर्ण भएर अहिले काडमाण्डौंमा पनि चारै जनाले प्रथम श्रेणीमै मास्टर्स गर्दा आफूलाई गर्व महशुस भएको बताए ।उक्त वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न भाषा,धर्म,समुदाय र संस्कृतिको प्रतिनिधित्व हुने गरी कक्षा प्ले ग्रुपदेखि कक्षा १० सम्मका बालबालिकाहरुले आफ्नो उत्कृष्ट प्रस्तुति पस्केका थिए ।

कार्यक्रममा शिक्षक धन बहादुर डगौराले लेखन तथा निर्देशन गरेको सपना देख्ने आँखा नामक नाटक विद्यार्थीले प्रस्तुत गर्दा दर्शकदिर्घामा रहेका अतिथि तथा अभिभावकहरु स्तब्ध भएका थिए ।त्यस्तै ससना नानीहरुसँग शिक्षिकाहरुले प्रस्तुत गरेको नृत्य पनि निकै प्रेरणादायी थियो ।

वार्षिकोत्सव समारोहमा विद्यालयलाई नियमित पृष्ठपोषण गरिरहने देव गीरी र भागीराम चौधरीलाई सम्मान गरिएको थियो भने गतवर्ष एसइइ परिक्षामा ३.६ जिपिए भन्दा बढी ल्याउने १७ जना विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिनुका साथै कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो । शिक्षक टंक अवस्थीले निर्देशन गरेको केटा र केटी बीचको प्रत्यक्ष डेउडा दोहोरीले पनि विद्यालय प्रांगण गुञ्जयमान भएको थियो ।

विद्यालयकी संस्थापक प्रिन्सिपल मिरा आचार्यले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । उनले अभिभावकहरुको अथाह माया र शिक्षक तथा विद्यार्थीहरुको अथक मिहिनेतले विद्यालय यो अवस्थासम्म आइ पुगेको भन्दै साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन ।

विद्यालयले आमन्त्रण गरिएका अतिथिहरुलाई मायाको चिनोको रुपमा पुस्तक उपहार दिएको थियो । पछिल्लो समय पठन संस्कृतिमा कमि आइरहेका विद्यालयले थालेको नौलो प्रयासको अतिथिहरुले प्रंशसा गरेका थिए ।

विद्यालयका प्रबन्ध निर्देशक गोपाल शर्माको अध्यक्षतामा सम्पन्न उक्त २२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा प्याब्सनका उपाध्यक्ष ललित राज पन्त,सचिव योगेन्द्र हमाल,केन्द्रिय सदस्य टोपेन्द्र शाह,प्याब्सन कैलालीका वरिष्ठ उपाध्यक्ष छत्रराज पण्डित,धनगढी नगर प्याब्सनका अध्यक्ष धु्रर्ब बहादुर सिंह ,धनगढीका प्रतिष्ठित विद्यालयका संस्थापक तथा प्रिन्सिपल लगायत समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

विद्यालयले अघिल्लो वर्षको एसइइ परिक्षामा शत प्रतिशत नजिता हाँसिल गर्दै कैलाली जिल्लाभरी आफ्नो परिचय अझ फराकिलो बनाएको छ । २०६१ सालमा स्थापना भएको थ्री स्टार्स अंग्रेजी आवासिय विद्यालयमा हाल १२३५ जना विद्यार्थी अध्ययनरत छन भने ७२ जना कर्मचारी कार्यरत रहेको विद्यालयकी प्रिन्सिपल मिरा आचार्यले बताइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?