धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आगामी निर्वाचनमा राजनीतिक दल र नेताहरूसँग सुदूरपश्चिम प्रदेशको गरिबी न्यूनीकरणका लागि स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रोडम्याप मागेर मात्र मतदान गर्न नागरिकहरूलाई आग्रह गरेका छन्।
पुस १५ (तमु ल्होसार) को अवसरमा जारी गरिएको भिडियो सन्देशमा मेयर हमालले सुदूरपश्चिममा गरिबीको दर बढ्दै जानु अत्यन्त दुःखद र चिन्ताजनक अवस्था भएको बताए। उनले भने, “देशमा राजनीतिक परिवर्तन र शासन प्रणालीमा कैयौं पटक फेरबदल भए पनि सुदूरपश्चिमको विकासको गति अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। यो क्षेत्रको अवस्था अझै पनि दयनीय छ।”मेयर हमालले राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो नेपाल जीवनस्तर सर्वेक्षण (२०२२/२३) उद्धृत गर्दै गरिबीको तुलनात्मक चित्र प्रस्तुत गरे। उनका अनुसार, सन् २०१९ मा कर्णाली प्रदेशमा गरिबी दर ३९.५ प्रतिशत रहेकोमा हाल घटेर २६.६९ प्रतिशत पुगेको छ। तर सोही अवधिमा सुदूरपश्चिममा २५.३ प्रतिशत रहेको गरिबी दर बढेर ३४.१६ प्रतिशत पुगेको छ।

“कर्णालीजस्तो गरिब मानिएको प्रदेशले गरिबी घटाउन सफलता प्राप्त गरेको छ, तर सुदूरपश्चिममा उल्टै गरिबी किन बढ्यो ? यो अत्यन्त गम्भीर प्रश्न हो र यसको जवाफ खोज्नु हामी सबैको साझा दायित्व हो,” उनले जोड दिए।उनले पुस १५ लाई आधार बनाएर अबदेखि राजनीतिक दल र नेताहरूसँग गरिबी न्यूनीकरणको योजनाबारे गम्भीर छलफल, बहस र प्रश्नोत्तर सुरु गर्नुपर्ने बताए। निर्वाचनको समयमा मत माग्न आउने उम्मेदवारहरूसँग भावनात्मक भाषण मात्र होइन, गरिबी घटाउने स्पष्ट योजना, निर्धारित समयसीमा र कार्यान्वयनको विस्तृत खाका माग्नुपर्ने उनको भनाइ छ।
मेयर हमालले सुदूरपश्चिमप्रति सच्चा माया राख्ने हरेक नागरिकले चिया पसल, चौतारी, टोल र चोकहरूमा हुने दैनिक छलफलमा गरिबीको मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए। “गरिबी घटाउने ठोस योजना प्रस्तुत गर्न सक्ने दल र उम्मेदवारलाई मात्र मत दिने संकल्प अब गर्नैपर्छ,” उनले भने।
सुदूरपश्चिमको भविष्य सुरक्षित गर्न योजना र रोडम्यापसहितका नेता तथा दलको छनोट आजको सबैभन्दा ठूलो आवश्यकता भएको उनको धारणा छ। प्रश्न नगरी मत दिने परम्पराले यो क्षेत्रलाई पछाडि पारेको र अब सचेत नागरिकको दबाबबाट मात्र वास्तविक परिवर्तन सम्भव हुने उनले स्पष्ट पारे।अन्तमा, उनले पुस १५ लाई गरिबीविरुद्धको सामूहिक बहस सुरु गर्ने विशेष दिनका रूपमा मनाउन आग्रह गर्दै दल र नेताहरूलाई जनताका प्रश्नको जवाफ दिन बाध्य पार्ने वातावरण सिर्जना गर्न सबैमा एकजुट हुन अपिल गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?