You are currently viewing ३० घण्टादेखि कैदीबन्दीको कब्जामा कैलाली कारागार

३० घण्टादेखि कैदीबन्दीको कब्जामा कैलाली कारागार

२५ श्रावण,२०८२ः  कैलाली जिल्ला कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना कैदीबन्दी घाइते भएका छन्। झडपमा धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको हो। चौधरीको निधार र तिघ्रामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको बताइएको छ।
‘ए’ ब्लकका कैदीबन्दीहरूले पर्खाल तोडेर ‘बी’ ब्लकमा आक्रमण गर्दा झडप भएको थियो। घटनामा प्रयोग गरिएका धारिला सामग्री कारागारभित्र कसरी पुगे भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन। मृतकका भाइ विजय चौधरीले छानबिन नहुँदासम्म शव नउठाउने अडान राखेका छन्। हाल शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
घाइते ४७ जनालाई प्रारम्भिक उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। स्थान अभाव र सुरक्षा संवेदनशीलताका कारण पछि उनीहरूलाई अस्पतालनजिकै रहेको कोरोनाकालीन होल्डिङ सेन्टरमा सारिएको हो। आफन्तहरूका अनुसार धेरै कैदीको शरीरमा गहिरो चोटहरू छन् भने केहीको हातखुट्टा समेत भाँचिएका छन्। एक गम्भीर घाइतेलाई थप उपचारका लागि हवाईजहाजमार्फत काठमाडौं लगिएको छ।झडपपछिको अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयले शनिबार स्थलगत अध्ययन गरेको छ। आयोगका प्रदेश प्रमुख प्रकाशदत्त भट्टको नेतृत्वमा गएको टोलीले कारागारको भौतिक अवस्था, जनशक्ति र व्यवस्थापनसम्बन्धी समस्याहरू रहेको निष्कर्ष निकालेको छ। कारागारमा क्षमताभन्दा बढी कैदी, न्यून सुरक्षाकर्मी, र कैदी स्थानान्तरणमा पारिवारिक समन्वय नहुनु मुख्य समस्या देखिएको आयोगले जनाएको छ।


यता, घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले प्रेस विज्ञप्ति जारी गर्दै कारागारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र कारागार विभागको समन्वयमा सुरक्षा व्यवस्था थप कडा बनाइएको जानकारी दिएका छन्।
घटनापछि कैलाली कारागारमा नयाँ जेलरको पनि नियुक्ति गरिएको छ। बाके जिल्लाको नौबस्ता कारागारमा कार्यरत जेलर जालन्धर भुसाललाई जिम्मेवारी दिइएको हो। सूचना अधिकारी शिवराज जोशीका अनुसार भुसालले आइतबारदेखि कार्यभार सम्हालेका छन्।
तर, झडपपछि ३० घण्टासम्म कारागारकै नियन्त्रण कैदीबन्दीहरूको हातमा रहेको सुरक्षा स्रोतहरूले जनाएका छन्। प्रहरीलगायतका सुरक्षा अधिकारीहरू शनिबार कारागार प्रवेश गर्न खोज्दा कैदीबन्दीहरूले सिलिण्डर र प्रेसर कुकर पड्काउने धम्की दिएका कारण सुरक्षाकर्मीहरू भित्र पस्न नसकेको जनाइएको छ। जिल्ला प्रशासनले घटनाको थप अनुसन्धान र अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply