नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कैलाली क्षेत्र नं. ५ मा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । यसैक्रममा लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

रिजाल केसीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि पार्टी संगठनमा महिला तथा युवाको अर्थपूर्ण सहभागिता बढाउने र तल्लो तहका कार्यकर्ताका आवाजलाई पार्टीको नीति निर्माण तहसम्म पु¥याउने अभियानका रूपमा अघि सारेकी छन् ।
‘पार्टी संगठनलाई बलियो बनाउन कार्यकर्ताको भावना र आवाजलाई नेतृत्व तहसम्म पु¥याउनुपर्छ,’ रिजाल केसीले भनेकी छन्, ‘महिला र युवाको सहभागितालाई थप अर्थपूर्ण बनाउँदै पार्टीलाई समयअनुकूल र जनमुखी बनाउन मेरो भूमिका केन्द्रित हुनेछ ।’

रिजाल केसीले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने, संगठनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिने तथा कार्यकर्तासँग नियमित संवाद र सहकार्यलाई प्राथमिकतामा राख्ने बताएकी छन् ।
उनको उम्मेदवारी घोषणासँगै कैलाली क्षेत्र नं. ५ मा महिला नेतृत्व, युवा सहभागिता र संगठन सुदृढीकरणका विषयले समेत चर्चा पाउन थालेका छन् । कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताबीच हुने प्रतिस्पर्धासँगै उम्मेदवारहरूले अघि सार्ने एजेन्डा पनि महत्वपूर्ण बन्ने देखिएको छ ।

निर्वाचन समितिको कार्यतालिका अनुसार असोज १० गते धनगढीमा क्षेत्रीय कार्य समिति, प्रदेश महाधिवेशन प्रतिनिधि (३४ जना), प्रदेश सभा कार्यसमिति र ३३ जना महाधिवेशन प्रतिनिधीको चयन हुनेछ । निर्वाचन अधिकृत विरेन्द्र कुमार खत्रीले मौसमको प्रतिकुलता भएमा २ दिनका लागि निर्वाचन कार्यतालिका सर्नसक्ने बताएका छन । तर यसको निर्णय भने भई नसकेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?