१३ साउन २०८३,धनगढी : गुरुपूर्णिमाको अवसर पारेर उपमहानगरपालिक – ४ स्थित सीसीएस ( CCS ) स्कुलले सुदूरपश्चिम प्रदेशको मुख्य धार्मीक स्थल मध्येकै एक शिवपुरीधाम परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो। सो अवसरमा शिवपुरीधाम परिसरमा विभिन्न प्रजातिका ११० वटा विरुवा रोपिएको विद्यालयका प्रिन्सिपल अर्जुन नाथले जानकारी दिएका छन ।

विद्यालयका प्रिन्सिपल अर्जुन नाथका अनुसार गुरुपूर्णिमा गुरुहरूप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने पर्व भएकाले यस अवसरलाई प्रकृति संरक्षणसँग जोड्दै वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।

यस अभियानमार्फत वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै हरित वातावरण निर्माणमा योगदान पुर्याउने लक्ष्य राखिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा सहभागी शिक्षकहरूले वृक्षारोपण मात्र नभई रोपिएका विरुवाको संरक्षण र नियमित हेरचाह पनि उत्तिकै आवश्यक रहेको बताएका थिए। साथै,वातावरण संरक्षणसम्बन्धी यस्ता रचनात्मक तथा समाजमुखी कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको विद्यालय प्रशासनले जनाएको छ। उक्त वृक्षारोपण कार्यक्रममा विद्यालयकी संयोजक शारदा रेग्मी लगायत शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?