२८भाद्र,धनगढीः बैतडीको सिगास गाउँपालिका–२ गाजरीकी ३४ वर्षीया बेलमती धामी हत्यापछि उनका ५ सन्तानको बिचल्ली भएको छ । चार वर्षअघि जन्डिस रोगबाट श्रीमान् गुमाएकी बेलमतीसमेत नरहेपछि उनका ५ छोराछोरीको बिचल्ली भएको हो । बेलमतीको गत २२ गते राति सुतेको बेला बन्चरो प्रहार गरी आफ्नै भतिजो नाता पर्ने ३० वर्षीय यज्ञ धामीले हत्या गरेका थिए । अहिले यज्ञ जिल्ला प्रहरी कार्यालय बैतडीको नियन्त्रणमा छन ।

मृतक बेलमतीको घर गाउँभन्दा टाढा एकान्त गाजरीको पिडेगोदा ठाउँमा छ । यज्ञ र बेलमती नातामा काकी भतिजा हुन् । यज्ञ हुलाकमा काम गर्ने कर्मचारी हुन् । उनका एक छोरा एक छोरी छन् । उनकी श्रीमती केही वर्षदेखि दुबईमा काम गरिरहेकी छिन् । यज्ञकी श्रीमती विदेश गएपछि उनकी छोरी मामाघरमा छिन् । घरमा रहेकी ७७ वर्षीया आमा र छोरासहित यज्ञ काकी बेलमतीकै घरमा बसिरहेका थिए । बेलमती नै यज्ञकी आमा र छोराकी सहारा बनेकी थिइन् । स्थानीय सूर्य बोहराका अनुसार केही दिन अगाडीदेखि यज्ञको मानसिक अवस्था विग्रेको थियो । उपचार गराउँछु भनी उनी धनगढी गएका थिए । तीन दिन अगाडि मात्रै उनी धनगढीबाट घर फर्केका थिए ।

प्रहरीका अनुसार यज्ञले राति सुतिरहेको अवस्थामा बेलमतीको घाँटी र मुखमा धारिलो हतियार बन्चरोले प्रहार गरेका थिए । श्रीमान्को मृत्यु भएपछि आफ्ना ५ बच्चा र यज्ञका आमा बच्चाकै सहारा बनेकी बेलमतीको मृत्यु भएपछि सबै बेसहारा भएका छन् । बेलमतीकी जेठी छोरी कक्षा ९ मा पढ्छिन् । अब बाँकी तीन बहिनी र एक भाइको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा आएको छ । बेलमतीको अन्तिम संस्कार गर्न पनि परिवारसँग आर्थिक अवस्था नरहेको वडाध्यक्ष खगेन्द्रसिंह ऐरले बताए । ‘बेलमतीले मजदुरी गरी आफ्ना बालबच्चा पालिराहेकी थिइन्,’ उनले भने, ‘अब सहारा नै गुमाइसकेका यी बच्चाको झनै बिचल्ली हुने भयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?