२०भाद्र,धनगढीः नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको छ । भोलि र आउँदो मङ्गलवार हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सबै तयारी पूरा भएको एन्फाका प्रवक्ता सुरेश शाहले हिजो काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
प्रतियोगिताका दुई खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुकी साढे ५ बजे शुरु हुनेछ । खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली अस्ति बुधवार नै नेपाल आइसकेको छ । बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीमा रहेको नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलमा रहेको च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।
प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकार एडी रिलिज प्राइभेट लिमिटेडलाई प्रदान गरेको प्रवक्ता शाहले जानकारी दिनुभयो । खेलका लागि भिआइपी प्याराफिटतर्फ एक हजार र साधारण प्याराफिटर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । दुवै खेलको समग्र विजेतलाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ ।
यदी दुवै खेलबाट नतिजा नआएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता तय हुनेछ । प्रतियोगिता सञ्चालनका लागि झन्डै एक करोड २७ लाख ५८ हजार एक सय ६८ रुपैयाँ खर्च लाग्ने एन्फाले जनाएको छ ।
यसैबीच अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले दशरथ रङ्गशाला सुरक्षित रहेको र अन्तर्राष्ट्रिय खेल खेलाउने स्तरको रहेको बताएको छ । एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले एएफसीको कम्पिटसन डिपार्टमेन्टले तय गरेको नियम पूरा नहुँदा दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल हुन नसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?