You are currently viewing बाढीका कारण बाजुरामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि

बाढीका कारण बाजुरामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि

३०श्रावण,२०८२ः बुधवार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण बाजुराको हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ।
तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए। बाढीले कुमाल बगर बस्ने आइसिंह बोहरा, भीमराज बोहरा, सिमपानी बस्ने चन्द्रलाल, मनी बुढा र रविलाल बुढाको घर बगाएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।
बाढीले वीरसिंह बोहरा, धनरुप बोहरा, प्रबल बोहरा र सोही वडामा रहेको गोल्देमाणुदेखि टिन जोड्ने निर्माणाधीन झोलुङ्गे पुलका सामग्री बगाएको प्रहरी निरीक्षक चौधरीले बताए। बाढीले स्थानीय आइसिंह बोहराको पसल, बाख्राखोरसहित ६० बाख्रा र भीमराज बोहराको बाख्राखोर सहित १० बाख्रा बगाइसकेको छ।
बाढीका कारण यहाँका सात घर पूर्ण क्षति भएका छन् भने १७ घर पूर्ण जोखिम, सरकारी तथा आठ वटा सार्वजनिक कार्यालय जोखिममा परेका छन्। बाढी प्रभावितलाई सुरक्षित ठाउँ सारिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताएका छन्। बाढीको जोखिम अझै रहेकाले प्रभावितलाई सुरक्षित रहन र बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन्। उनीहरुलाई राहत वितरण र पुनःस्थापनाका लागि काम भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply