धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले SEE दिएका विद्यार्थीहरूको भविष्य निर्माणलाई लक्षित गर्दै “चैतन्य विद्यार्थी क्षमता विकास अभियान” सञ्चालन गर्ने घोषणा गरेको छ । विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत ल्याएको यो अभियानले करिब १००० जना विद्यार्थीलाई प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरिएको छ ।
पछिल्ला वर्षहरूमा SEE उत्तीर्ण गरेपछि विद्यार्थीहरूमा स्पष्ट लक्ष्य निर्धारण, व्यवहारिक सीप र आत्मविश्वासको अभाव देखिँदै आएको सन्दर्भमा चैतन्य पाठशालाले यस्तो कार्यक्रम अघि सारेको हो । केवल सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नभई व्यावहारिक सीप, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास आजको आवश्यकता रहेको कारण यो कार्यक्रमको आयोजना गरिएको पाठशालाका अध्यक्ष तथा हार्दिक नेपाल अभियानका संयोजक गणेश प्रसाद जोशीले बताए ।
यस अभियानअन्तर्गत विद्यार्थीहरूको व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्व कला, प्रस्तुतीकरण तथा नेतृत्व विकास, योग तथा ध्यान, अङ्ग्रेजी भाषा (सम्प्रेषण तथा लेखन) जस्ता आधारभूत तथा अत्यावश्यक सीपहरूमा प्रशिक्षण गराइने अध्यक्ष जोशीले बताएकाका छन् ।
त्यसै गरी, आधुनिक समयको मागअनुसार सूचना तथा सञ्चार प्रविधि (ICT) अन्तर्गत कम्प्युटर ज्ञान, ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, भिडियो एडिटिङ तथा प्रोग्रामिङ जस्ता सीपहरू प्रदान गरिने र यसले विद्यार्थीहरूलाई भविष्यमा रोजगारी र उद्यमशीलताको अवसरतर्फ उन्मुख गराउने विश्वास लिइएको उनले बताएका हुन् ।
व्यवहारिक जीवनसँग प्रत्यक्ष सम्बन्धित आतिथ्यता क्षेत्र (Hospitality) अन्तर्गत बेकरी, बारिस्टा र कुकिङ सम्बन्धी तालिमहरू पनि सञ्चालन गरिने र विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती र अनुशासन विकासका लागि खेलकुद प्रशिक्षण (फुटबल, क्रिकेट, बास्केटबल, तेक्वान्दो) पनि कार्यक्रमको अभिन्न अङ्ग रहने पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।
कार्यक्रम २०८३ साल बैशाख ६ गतेदेखि सुरु हुने जनाइएको छ । सीमित सिट उपलब्ध हुने भएकाले पहिला आउनेलाई प्राथमिकता को आधारमा सहभागिता सुनिश्चित गरिने विद्यालयले जनाएको छ । सम्पूर्ण तालिमहरू सम्बन्धित क्षेत्रका अनुभवी प्रशिक्षक तथा विषय विज्ञहरूद्वारा सञ्चालन गरिनेछन् ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ, जसले उनीहरूको भविष्यमा शैक्षिक तथा व्यावसायिक यात्रामा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
उक्त कार्यक्रम धनगढी–५, शिवनगर, कैलाली स्थित चैतन्य पाठशालामा सञ्चालन गरिने पाठशालाका निर्देशक कटक ब. सिंहले बताएका छन् । उनका अनुसार यस अभियानमार्फत सुदूरपश्चिम क्षेत्रका युवाहरूमा सकारात्मक परिवर्तन ल्याउने, उनीहरूलाई सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने लक्ष्य राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?